‘टोपबहादुर झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन

‘टोपबहादुर झट्केलो छोरो’ शब्द रेकर्डबाट हटाउन अध्यक्ष तिमिल्सिनाको निर्देशन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वैशाख २४ गतेको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । 

मंगलवार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सांसद रायमाझीले प्रयोग गरेको ‘उहाँको झट्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका हुन् । 

सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सांसद रायमाझीको शब्दप्रति नियमापत्ति जनाएपछि अध्यक्ष तिमिल्सिनाले आज सो अभिव्यक्ति राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को ‘घ’ को व्यवस्थासँग मेल नखाने भएकाले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । 

वैशाख २४ गतेको बैठकमा सांसद रायमाझीले नक्कली शरणार्थी प्रकरणमा भनेका थिए, 'पूर्व प्रधानमन्त्री (ओली) टोपबहादुर जोगाउन सक्रिय हुनुभयो। उनको माया लागेर त होइन होला, उहाँ त झट्केलो छोरो हो। आफ्नै छोराछोरी हुँदाहुँदै झट्केलोलाई माया गर्ने हाम्रो परम्परा छैन। त्यसमा अरु पनि केही छ।'

साथै अध्यक्ष तिमिल्सिनाले सदस्यहरुले सभामा बोल्दा राष्ट्रिय सभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्दहरु प्रयोग गर्न पनि आग्रह गरे । 

Logo