नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले पूर्ण रूपमा सहयोग गर्नुपर्ने बताएका छन्।
सोही प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले आज पक्राउ गरेपछि नेता पौडेलको यस्तो अभिव्यक्ति आएको हो । यस प्रकरणमा मुछिएकाहरूलाई चोख्याउने काम गर्न नहुने उनको भनाई छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतै बाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जाे कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् ।’ उनले भनेका छन्, ‘काे कुन पार्टीमा छ, काे सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढता पूर्वक सरकार अगाडि बढोस् ।’
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई आज उनकै निवासबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिइएको छ ।
योसँगै उक्त घटनामा आरोपित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । साे प्रकरणका आरोपित नेकपा (एमाले)का सचिव एवं पूर्वगृहमन्त्री टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ ।































प्रतिक्रिया