गगन थापा महामन्त्रीमा लड्ने, तर कुन समूहबाट ?

गगन थापा महामन्त्रीमा लड्ने, तर कुन समूहबाट ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य गगन थापा सधैँ सत्ताको टार्गेटमा पर्छन् । कारण हो, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभन्दा कडा प्रतिपक्षको भूमिकामा उनले आफूलाई उभ्याउनु । उनी संसदमा निरन्तर रुपमा बोलि रहेका हुन्छन् । उनको बोलि मिडियाको लागि प्रत्येक पटक हट केक बन्छ । यस पछाडिको कारण हो, उनी पाँच मिनेट बोल्नका लागि लामो समयसम्म तयारी गर्ने गर्छन् । पार्टी बाहिर मात्र होइन, पार्टीभित्र नै उनी धेरैको तारो बनिरहेका हुन्छन् । उनले पार्टीभित्रका कमी कमजोरी देखाउन पनि कुनै कन्जुस्याइँ गर्दैनन् । बरु आफू र आफ्नो नेतृत्वबाट गल्ती भएकै हो भन्दै सहर्ष स्वीकार गर्दछन् ।

याे पनि  :

पार्टीभित्र उनीभन्दा धेरै शीर्ष नेताहरुको उपस्थिती अझै प्रभावकारी बन्न सकेको छैन्, जति गगनको अहिले बनिरहेको छ । उनका केही प्रतिस्पर्धी बाहेक पार्टीभित्र पनि एउटा ठूलो जमात छ जसले भन्ने गर्छ अबको पार्टी नेतृत्व गगनलाई दिनुपर्छ । उनी पनि पार्टी नेतृत्वका लागि लालायित नै देखिन्छन् । उनी यस अगाडि नै महमन्त्री पदमा होमिएका थिए । तर पार्टीभित्र लामो समयदेखि जकडिएको गुट उपगुटका कारण पराजय बेहोर्नुपर्यो ।

उनको व्यक्तिगत रुपमा लोकप्रिय मत चुनाव जित्नका लागि पर्याप्त हुन सकेन । यस पटक पनि उनको चुनावी प्रतिस्पर्धा कस्तो हुन्छ त्यो समयले नै देखाउला । नेता थापाले केन्द्रबिन्दु अनलाईनसँग विशेष अन्तवार्ता दिँदै आफूले पुनः महामन्त्रीमा नै उम्मेदवारी दिने बताएका छन् । उनले अन्तर्वार्ताका क्रममा भनेका थिए–‘नेपाली कांग्रेसलाई लयमा ल्याउन युवा नेतृत्वको खाँचो छ । म १३ औँ महाधिवेशनमा पनि अगाडि बढेकै हुँ । यसपालि पनि महाधिवेशनबाट भाग्दिन । सम्भवत १४ औँ महाधिवेशनमा पनि महामन्त्रीमा नै उम्मेदवारी दिन्छु ।’

नेपाली कांग्रेसभित्र अहिले स्पष्टसँग देखिने गरी तीन धार अस्तित्वमा रहेका छन् । सभापति शेरबहादुर देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष । तुलनात्मक रुपमा देउवा र पौडेल पक्ष कांग्रेसभित्र बलिया देखिन्छन् भने सिटौला पक्ष केही कमजोर देखिन्छन् । तर महाधिवेशनका बेला सिटौला पक्षको समर्थन नै दुवै पक्षका लागि निर्णायक हुन्छ ।

१३ औँ महाधिवेशनमा पनि सिटौला पक्ष ब्याक हुँदा देउवा पक्षलाई फाइदा पुगेको थियो । सिटौला पक्षबाट महामन्त्रीको रुपमा महाधिवेशनमा होमिएका थापाले पराजय बेहोर्नु परेको थियो । उनका प्रतिद्वन्द्वी पौडेल पक्षका शशांक कोइरालाले महामन्त्रीको पद हत्याउन सफल भएका थिए । नेता थापा १२ औँ महाधिवेशनमा सबभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । १३ औँ महाधिवेशनमा उनले पार्टीभित्रको तेस्रो धार सिटौला प्यानलबाट महामन्त्री पद ताकेका थिए । १३ औँ महाधिवेशनको माहोल हेर्दा उनले पक्कै जित्ने अनुमान लगाउन सकिन्थ्यो । तर महामन्त्री पदका लागि भएको निर्वाचनमा उनी सबभन्दा कम मत ल्याएर पराजित हुनुपर्यो । उनले ५ सय ८४ मात्र मत हात पार्न सके जुन तीन उम्मेदवारमध्ये सबैभन्दा कम रहेको थियो ।

उनकै ससुरा अर्जुननरसिंह केसी देउवा पक्षबाट महाधिवेशनमा होमिएका थिए । उनी महामन्त्रीका लागि मत पाउने दोस्रो उम्मेदवार भए । उनले करिब १ हजार मत ल्याएका थिए । पहिलो नम्बरका उम्मेदवार भने कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद अर्थात (वीपी) कोइरालाका पुत्र शशांक कोइराला भए । कोइरालाले १ हजार ४ सय १७ मत ल्याई महामन्त्रीमा विजयी भएका थिए ।

वीपीको विरासतलाई १३ औँ महाधिवेशनमार्फत ढलाउनुपर्छ भन्दै वीपीको छोरा हुनुबाहेक शशांकको पार्टीभित्र कुनै योगदान छैन भनेर चर्को स्वरमा नारा लगाउनेहरुको कुनै कमि नभए पनि अन्तिममा न अर्जुननरसिंह केसीले उनलाई हराउन सके, न त कांग्रेसका खम्बा कहलिएका थापाले उनलाई हराउन सफल भए । कांग्रेसमा युवा नेतालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्दै चर्को भाषण गर्ने तर महाधिवेशनमा युवा नेता अगाडि बढ्दा असहयोग गर्ने प्रवृतिप्रति नेता थापाको असन्तुष्टि छ । केन्द्रबिन्दसँगको अन्तर्वार्तामा नेता थापाले अघिपछि कांग्रेसमा युवा नेतृत्वको खाँचो छ भन्ने महाधिवेशनका बेला हात कमाउने प्रवृतिले कांग्रेसमा सुधार हुन नसक्ने बताएका थिए । नेता थापाले अन्तर्वार्ताका क्रममा भनेका थिए–‘अघिपछि चर्को स्वरमा कांग्रेसमा नेतृत्व परिवर्तनको खाँचो छ भन्ने ।

अबको पार्टीको जिम्मेवारी युवा नेताको काधमा छ पनि भन्ने । तर महाधिवेशनमा युवा नेता अगाडि बढ्दा मतदान गर्न हात कमाउने प्रवृतिले कांग्रेसमा सुधार ल्याउन सकिँदैन ।’ त्यस्तै उनले कांग्रेसलाई सुधारको बाटोमा लैजानका लागि युवा नेता जसरी पनि अगाडि बढ्नुपर्ने बताएका थिए । १४ औँ महाधिवेशनमा जसरी पनि युवा नेता अगाडि बढ्नुपर्छ भन्दै नेता थापाले भनेका थिए–‘१४ औँ महाधिवेशनमा युवा नेता जसरी पनि अगाडि आउनुपर्छ । युवा नेतृत्व जुनसुकै पदका लागि अगाडि बढ्नु हुन्छ मेरो पूर्ण साथ रहन्छ । यदि तपाईँ अगाडि आउने हिम्मत गर्नु हुदैन भने म अगाडि बढ्छु मलाई साथ दिनुहोस् ।’

दुवै समूहमा पाको उमेर भएका धेरै नेताहरु नै महामन्त्री र अन्य पदाधिकारी पद हत्याउन लागि परेका कारण गगन उनीहरुको प्राथमिकतामा छैनन् । तर पार्टीभित्र एउटा जर्वरजस्त आवाज छ अब युवा पुस्तालाई अगाडि बढाउन आवश्यक छ । तर पार्टीभित्र माथिदेखि तलसम्म यस्तो शक्तिशाली गुट छ कि गगन जस्तो पपुलर नेता एक्लैले चुनाव लडेर जित्न निकै कठिन छ । त्यसैले उनले कि पौडेल समूहबाट त कि देउवा समूहबाट चुनाव लड्नु पर्ने हुन्छ । तर दुवै समूहमा गगन युवा हुन् पदाधिकारीमा उनको लड्ने बेला आएको छैन् भन्ने नेताहरुको संख्या बढी छ । सभापतिका आकांक्षी शेखर कोइराला भने आफ्नो समूहमा गगनलाई ल्याउन तयार छन् । तर शेखरको गुट बलियो बनिसकेको छैन् । केन्द्रदेखि गाउँसम्म पौडेल र देउवा समूहमा पार्टी बाँडिएको छ, केही जिल्ला कृष्णप्रसाद सिटौलाको पनि प्रभाव देखिन्छ । तर सिटौला पक्षबाट १३ औँ महाधिवेशनबाट पराजय बेहोरेका थापा अहिले पनि सिटौलासँगै रहन्छन् वा फेर्छन् अझै आधिकारीक रुपमा सार्वजनिक गरी सकेका भने छैनन् ।

 

Skip This
Skip This
Logo