काँग्रेस नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी छुट्न नहुने धारणा राखेका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,‘यस प्रकरणमा संलग्न जोकोहीलाई कारबाही हुनुपर्छ,घटनाको अनुसन्धानलाई प्रभावित पार्ने हिसाबको राजनीतिक दबाब दिन हुँदैन।’
यो घटना मुलुकका लागि लज्जाको विषय भएको उनले बताए। ‘दोषी उम्किने वातावरण बन्न हुँदैन। उनीहरूले ‘पनि समेन्ट’ पाउनुपर्छ। यसमा ‘इफ’ र ‘बट’को कुरै छैन। राजनीतिक दबाबमा अनुसन्धान प्रभावित हुनु हुँदैन,’ उनले भने। उनले यो प्रकरणले अन्तर्राष्ट्रिय रूप लिइसकेका कारण अनुसन्धान नरोकिने दाबी पनि गरे।
कोइरालाले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारे। केही दिनअघि तपाईंको पनि नाम जोडेर अडियो सार्वजनिक भयो नि भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘यस्ता फाल्तु कुरा नगर्नुस्। यसमा कतै पनि, कहीँ पनि, केहीमा पनि म ‘इन्भल्भ’ छैन।’
उनले यस प्रकरणमा जोडिएका केशव दुलाललाई भने आफूले चिनेको बताए। ‘केशव दुलाललाई चिनेकै हो, नचिनेको होइन, घरमै आउँछन्, भेट्छन्, तपाईंंहरूसँग पनि फोटो खिचेका होलान्। यसको माने के ? शेखर कोइराला पनि यसमा संलग्न छ भन्ने हो ?,’ उनले भने, ‘यस्ता अनावश्यक कुराहरू गर्नु हुँदैन। नक्कली शरणार्थी प्रकरण त्यत्तिकै थामथुम हुँदैन।’































प्रतिक्रिया