नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आवद्ध सबैलाई कानूनको घेराभित्र ल्याएर कारवाही गर्न माग गरेको छ ।
बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेकपा एसले शरणार्थी प्रकरणमा संलग्न सम्पूर्ण सञ्जाललाई कानूनको दायराभित्र ल्याउन माग गरेको हाे । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेचबिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा ज्ञापन पत्र बुझाएको बताइएको छ ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले समृद्धिको यात्रा सन्तोषजनक नभएको गुनासो गरे । उनले भने, ‘समृद्धिको यात्रा सन्तोषजनक तरिकाको छैन । यसलाई लक्ष्यमा पुर्याउन सबै गम्भीर बन्नैपर्छ । नत्र भए हामी नेपाली राजनीतिकर्मीले औचित्य समेत पुष्टि गर्न सक्दैनौं । राजनीतिको नारा लगाएर मात्र यसकाे औंचित्य पूरा गर्न सकिँदैन । राज्यकै उच्च तहमा बसेका नेताहरु र तलसम्मको सेट मिलाएर काम गर्ने यो शैली संगठित अपराध हो ।’
नेकपा एसद्वारा बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र होईन, राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य हो, यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको छ अन्तराष्ट्रिय बेइज्जती भएको छ ।’
यस काण्डमा संलग्न पूर्वउपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट क्रियाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षड्यन्त्र गर्ने काम गरिरहेको पनि नेकपा एसको ठहर छ ।































प्रतिक्रिया