राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद लामिछानेले यो प्रकरणमा छानबिनका लागि संसदबाट विशेष समिति बनाउन माग गरेका हुन् । प्रकरणमा पक्राउ परेकाले नाम लिएका व्यक्तिउपर छानबिन नगरेको भन्दै आपत्ति जनाएका उनले दोषीलाई उम्काउन खोजिएको आशंका पनि व्यक्त गरे ।
उनले भने, ‘आज कुनै पनि राजनीतिक दल बाँकी रहेको छैन, जसलाई आरोप लाग्न बाँकी रहेको होस्। यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप छैन, दिनदहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वार्टरमा, मन्त्री बस्ने सिंहदरबारमा, लेनदेन भइरहेका विषयहरू आइरहेका छन्। जुन छानबिन गर्ने निकाय छन्, कसैको पनि विश्वास गर्ने वातावरण भएन। जस-जसको नाम आएको छ, उनीहरुलाई छानविनको दायरामा ल्याउन नदिने, सोधपुछ सम्म नगर्ने गरी किन डराएको? गृहमन्त्रीले मुटु दरो छ भन्नुभएको थियो, प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो। उहाँहरूको मुटु कहाँ गएर चेक गर्ने? खुट्टा कमाउनु भएन, कारबाहीको दायरा ल्याउनुपर्छ। यत्रो ठूलो बेइज्जत भएको अवस्थामा एकपटक सोधपुछका लागि बोलाउन नहुने, को हो उहाँहरू?’
शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न रास्वपाले माग गरेपछि सभामुख देवराज घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको पनि बताए ।































प्रतिक्रिया