नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरि बूढामगरलाई सम्मान गरेका छन्।
बिहीबार धुम्वाराहीस्थित सभापति देउवा निवासमा सम्मानपत्रसहित खादा ओढाएर बूढामगरको सम्मान गरिएको हो। त्यस अवसरमा देउवाले हरि बुढामगर देशको निधि भएको बताए।
देउवाले भने ‘ उहाँले खुट्टा गुमाउनु भएतापनि उहाँले साहस गुमाउनु भएको छैन। उहाँले गर्नु भएको काम राष्ट्रको लागि गौरवको कुरा हो। तपाईको बुवा पार्टीमा काम गरे पनि तपाई पार्टीमा मात्र सीमित हुनुहुन्न, तपाई देशकै निधि हो। काँग्रेस पार्टी र सम्पूर्ण नेपालीको तर्फबाट बधाई छ। ’
बेलायती सेनामा कार्यरत हुँदा दुवै खुट्टा गुमाएका बूढामगरले गत जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए। सम्मानित बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए । उनले यस क्षेत्रमा सरकारलाई केही गर्न आफ्नो अभियानले सचेत गराएको विश्वास पनि व्यक्त गरे ।
‘सरकारले मलाई दुई वटा हात, दुई वटा खुट्टा र दुई वटै आँखा नभएकालाई सगरमाथा जान ब्याण्ड गरेको थियो। त्यो ब्याण्ड गरेपछि हामीले सर्वोच्च अदालतमा गएर मुद्दा लडेका थियौँ । त्यो मुद्दा जितेर सगरमाथा चढेको र अहिले मैले सरकारलाई पनि यस क्षेत्रमा केही काम गर्न सचेत गराएको महशुस गरेको छु ।’





























प्रतिक्रिया