भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् ।
शनिबार साँझ प्रधानमन्त्री दाहालसहितको टोली चढेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। उनीसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सरकारी प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा गएका थिए ।
नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्रालयकी राज्यमन्त्री मनाक्षी लेखीले उनीहरुलाई बिदाइ गरेकी थिइन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहाल आजै इन्दौरबाट नयाँदिल्ली फर्किएका थिए ।
भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् । प्रधानमन्त्री दाहाल यही जेठ १७ गते औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका थिए ।































प्रतिक्रिया