नेकपा विवाद : अध्यक्षद्वयको १३ दिनमा सात भेट, उपलब्धि शुन्य

नेकपा विवाद : अध्यक्षद्वयको १३ दिनमा सात भेट, उपलब्धि शुन्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ दल नेकपाभित्र देखिएको किचलो ब्यवस्थापनका लागि पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिन यता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन् । २ साउनसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच विषयवस्तु केन्द्रीत भएर लयमा छलफल भए पनि समाधानका अचुक अस्त्र के निकाल्ने भन्नेमा अझै नेता सहमतिमा पुग्न नसकेका हुन् ।

प्रधानमन्त्री ओलीको पार्टीभित्रै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेताले राजीनामा माग गरेपछि विवाद उत्कर्षमा छ। ओली अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडानमै छन् । वरिष्ठ नेता झलनाथ खनालले लगातार दुई अध्यक्षले छलफल गरे पनि अहिलेसम्म कुनै निष्कर्ष फेला पार्न नसकेको बताए । उनले भने, ‘दुई अध्यक्ष छलफलमा बस्नु त भएको छ तर सहमति केही भएकै छैन। अब अध्यक्षबीच सहमति जुटेन भनेर स्थायी समिति रोक्ने कुरा हुँदैन।’ अब विवाद र भएका सहमति स्थायी समिति बैठकमै ल्याएर छलफल गर्ने उनको भनाइ छ।

महासचिव विष्णु पौडेलले भने, ‘अध्यक्षबीच गम्भीरतापूर्वक समस्या समाधान गर्ने हेतुलै नै कुराकानी भइरहेको छ। बिहीबार पनि छलफल हुन्छ।’ बुधबारको ओली दाहालको छलफलमा केहीबेर महासचिव पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

बिहीबारको छलफलमा भने पार्टीका वरिष्ठ नेता माधव नेपाललाई पनि राखेर छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष दाहालले छलफलका क्रममा राखेका थिए । तर ओलीले यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्। सम्भवतः सोही कारण पनि अबको छलफलमा नेपाललाई पनि राखेर राखेर छलफल गर्ने सम्भावना छ। तर उक्त छलफलको समय निर्धारण भने भएको छैन।अन्नपूर्णबाट

Logo