प्रज्ञा प्रतिष्ठानले गर्यो एकै वर्ष तीन पुरस्कार स्थापना

प्रज्ञा प्रतिष्ठानले गर्यो एकै वर्ष तीन पुरस्कार स्थापना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ । प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राख्दै नयाँ पुरस्कारहरु स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ । नेपालको गौरवलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पु¥याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ । सो पुरस्कारको राशी ३ हजार अमेरिकी डलर बराबरको (नेपाली रुपैयाँ) नगद, पदक र प्रमाणपत्र रहेको छ ।

त्यस्तै नेपालबाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरुलाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरी भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना गरिएको छ । साथै, नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई वर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । दुवै पुरस्कारको राशी २ लाख नेपाली रुपैयाँ नगद, पदक र प्रमाणपत्र रहेको छ । प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७७ कोभिड–१९ का कारण आयोजना गर्न सकेको छैन् । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार महोत्सवका लागि प्राप्त भएका ५ सय २ वटा कविताहरु सिलबन्दी र लाहाछाप गरी सुरक्षित राखिएको छ । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि समुचित मूल्याङ्कन गरी पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ ।

त्यस्तैगरी प्रतिष्ठानले नेपाल शब्दकोशको मोबाइल एप निर्माण गर्दै परिमार्जित संस्करण प्रकाशन गरेको छ । गत माघमा राष्ट्रिय गजल महोत्सव समेत सम्पन्न गरेको छ । साथै, कोरोना नियन्त्रणका लागि प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव लगायत सम्पूर्ण कर्मचारीकोतर्फबाट ७ लाख २९ हजार ५ सय ७३ रुपैयाँ कोरोना नियन्त्रण कोषमा जम्मा गरेको छ ।

Logo