एमालेमा ७० वर्षे उमेर हद हट्दा कसलाई फाइदा ?

एमालेमा ७० वर्षे उमेर हद हट्दा कसलाई फाइदा ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पार्टीको विधानबाट ७० वर्षे उमेर हद हटाएको छ। २८ बैशाखदेखि ३० बैशाखसम्म भएको एमालेको केन्द्रीय समिति बैठकको प्रस्तावपछि गत १९ जेठमा बसेको सचिवालय बैठकले विधानमा रहेको ७० वर्षे उमेर हद हटाएको हो। 

उमेर हद हटाएको बिषयलाई अन्तर पार्टी निर्देशन(अपानि)मार्फत एमालेले मातहत रहेका सबै निकायमा सर्कुलर गरिसकेको छ। ७० वर्षे उमेर हद निलम्बन भएसँगै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई अर्को महाधिवेशनमा पुनः अध्यक्ष बन्ने बाटो खुलेको छ।

उनीसँगै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा ‘बादल’,अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङलाई पनि अर्को महाधिवेशनमा उम्मेदवार बन्न बाटो खुलेको छ। 

एमाले अध्यक्ष ओली अहिले ७१ वर्षका छन् । त्यस्तै, बरिष्ठ उपाध्यक्ष पोखरेल ६९ वर्ष पुगे। उपाध्यक्षहरु थापा ६८ वर्ष, शाक्य ६९ र नेम्वाङ ७० वर्षका भए। ७० वर्षे उमेर हद म्याद कायम रहेको भए उनीहरु अर्को महाधिवेशनबाट बिदा हुने थिए। 

एमालेमा नवौं महाधिवेशनेखि ७० वर्षे उमेर हद कार्यान्वयनमा थियो। सोही उमेर हदका कारण त्यसबेला अमृत बोहरा लगायतका बरिष्ठ नेता पार्टीबाट बिदा भएका थिए। ७० वर्षे उमेर हद कार्यन्वन गर्न त्यसबेला वर्तमान अध्यक्ष ओली, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराईको महत्वपूर्ण भुमिका रहेको थियो। सोही उमेर हदका कारण ओली नवौं र दशौं महाधिवेशनमा अध्यक्ष बने। अहिले उनकै जोडबलमा ७० वर्षे उमेर हद हटाइएको छ ।

Logo