कोशीमा पहिचानको आन्दोलनप्रति ओलीको आक्राेश- ‘तयारीका साथ दनक दिनुपर्ने अवस्था आयो’

कोशीमा पहिचानको आन्दोलनप्रति ओलीको आक्राेश- ‘तयारीका साथ दनक दिनुपर्ने अवस्था आयो’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानवादीका नाममा भएका आतंकको एमालेले तयारीका साथ जवाफ दिने चेतावनी दिएका छन् ।

बिहीबार पार्टी मुख्यालय च्यासलमा नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै अध्यक्ष ओलीले प्रदेशमा पार्टीका नेता–कार्यकर्तालक्षित आक्रमण भएको भन्दै प्रतिवादमा उत्रन निर्देशन दिएका हुन् । सत्ता संरक्षित केही गुण्डाहरूले आतंक मच्चाएको उनको टिप्पणी छ ।  

‘पाँच/सात जना गुण्डाहरू छन्, मोटरसाइकल चढेर जता पनि जान्छन् र आक्रमण गर्छन् । उनीहरूलाई सत्ताको संरक्षण छ । आज हाम्रा नेता राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरे ।’ उनले भने, ‘अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो। सरकारले यो गराइराख्या छ भने एमाले चुप लागेर बस्न सक्दैन।’ 

पहिचानको नाममा जातीय दंगा फैलाउने कार्य प्रचण्डपथको भएको भन्दै अध्यक्ष ओलीले प्रचण्डले विषयको आगो फैलाउन नसकेपछि पहिचानवादीका नाममा गुण्डाहरू प्रयोग गरेको आरोपसमेत लगाए ।

Logo