‘महिला अधिकारको नाममा महिला अधिकारकै दुरुपयोग भयो’

‘महिला अधिकारको नाममा महिला अधिकारकै दुरुपयोग भयो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन् । विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भए पनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।

महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरे पनि उनीहरुले न्याय नपाएको बताए । राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा सांसद गंगा चौधरीले पीडित पुरुषहरुले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गरिन् । उनले भनिन, ‘‘महिला मात्रै पीडित छैनन् । पुरुषहरु कहाँ जाने न्याय खोज्न ? महिलाले पनि पुरुषमाथि अन्याय गरेका छन् । श्रीमान विदेशमा काम गर्ने यहाँ श्रीमती अर्कैसँग घुम्ने, भए भरको सम्पत्ति कुम्ल्याउने । विदेशबाट फर्किदा न आफ्नो परिवार, न सम्पत्ति, न श्रीमती’’

सांसद हिरा गुरुङले आयोगले सहर केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनु पर्ने बताइन् । महिला मात्रै हिंसामा पर्ने गरेको नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले आयोगले दुबै पक्षलाई न्याय दिनुपर्ने उनले बताइन् । आयोगका सचिव शान्ता अधिकारीले पुरुष हिंसा हुने गरेको भए पनि घटनाहरु बाहिर आउन नसकेको बताइन् । आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको उनको भनाई छ ।

२०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना घटेका छन् । आयोगको प्रतिवेदन अनुसार सबैभन्दा बढी महिलाहरु मानसिक हिंसाका ५ सय ८९ घटना घटेका छन् । शारीरिक हिंसाका ४ सय ५८, आर्थिक हिंसाका २ सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना घटेका छन् ।

Logo