प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न सिन्धुपाल्चोक पुगेका छन्।
प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्री मोहन बस्नेत, खानेपानी मन्त्री महेन्द्र राय यादवसहित स्थानीय जनप्रतिनिधि अवलोकनमा पुगेका छन्। उनिहरू मेलम्ची खानेपानीको मुहान र दुई वर्ष अघि भएको बाढीग्रस्त क्षेत्रमा निरीक्षण गर्ने जनाइएकाे छ।
आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ। विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो।
काठमाडाैँ उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।
सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ। सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैँ उपत्यकामा ल्याइने गरिएको छ।
विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो। विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो। मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो।





























प्रतिक्रिया