मध्यपुर थिमिका लागि नयाँ नाम जुराउन नगरपालिका अघि बढ्यो

मध्यपुर थिमिका लागि नयाँ नाम जुराउन नगरपालिका अघि बढ्यो

केन्द्रबिन्दु
0
Shares

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अमूर्त सम्पदाको रुपमा रहेको मौलिक नाम खोजेर प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । 

मंगलबार नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा अभिलेखीकरण प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा प्रमुख श्रेष्ठले मन्दिर, मठ, चैत्य, पोखरी जस्तै अमूर्त सम्पदा पनि उतिकै महत्वपूर्ण रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘स्थानीय स्तरमा रहेका सम्पदा, संस्कृति तथा जीवनशैलीको विषयमा अध्ययन गरिरहेको मालेकुले अभियानबाट प्रेरित भएर अहिले कार्यविधि नै बनाएर मौलिक नाम खोज्ने काम भइरहेको छ, पुराना नाम खोज्ने काम सकेर त्यसलाई जिआईएस सिस्टममा लाने तयारी गरिने छ ।’ 

बाजेपूर्खाले सन्ततिलाई हस्तान्तरण गरेको सम्पदालाई संरक्षण गर्नु सबैको कर्तव्य भएको बताउदै प्रमुख श्रेष्ठले सम्पदालाई पर्यटनसँग जोड्नसके त्यसले स्वरोजगारी सिर्जना गर्नेदेखि वित्तीय अवस्था चलायमान गराउने क्षेत्रमा भूमिका खेल्ने बताए । 

कार्यक्रममा समितिका संयोजक राजेन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै मौलिक नाम खोज्ने सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगहरुको विषयमा जानकारी दिए । उनले नौ महिनाको अवधिमा समितिले गरेको उपलब्धिको विषयमा समेत प्रष्ट पारे ।

कार्यक्रममा पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, युवा राजनीतिज्ञ भुवन बागः श्रेष्ठ लगायतले नगरभित्र पुराना नाम खोजेर प्रतिस्थापन गर्नुपर्ने आवश्यकता विषयमा चर्चा गरेका थिए । 

Logo