राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले अदालतको आदेश मान्दिनँ भन्न नमिल्ने बताएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सांसदसमेत रहेका केसीले बजेटले भेदभाव र अन्याय गरेको पनि बताए । उनले भने, ‘बालेनले केही सही गर्यो भन्दैमा अदालतको निर्णय त मान्दिनँ भन्न भएन नि । नगरप्रमुखले त्यसो भन्न मिलेन नि । त्यसो भए कसले मान्ने ? ’
जे पनि गर्न मिल्ने नेपालमा बजेट संशोधन गर्न मिल्दैन भन्नु अचम्मको पक्ष भएको भन्दै बजेट भेदभाव र अन्यायले भरिएको सांसद केसीले बताए । उनले भने ‘ मेरो कुलो बनेन, स्कुल बनेन, बाटो बनेन, भनेर हैरान पारेका छन् । यहाँ भान्सेहरुले आआफ्नो क्षेत्रमा बजेट राखे । जसको शक्ति, बल छ । उसले आफ्नो क्षेत्र, जिल्लामा लगानी गर्छ । जहाँ नियमपूर्वक काम गर्न पनि छ । त्यहाँ उनीहरुले भेदभाव गर्छन् । बजेट पास हुन कठिन नै छ । बजेटको निहुँमा अहिले कांग्रेस र एमाले पनि एक ठाउँमा भएका छन् । ४/५ महिना यीनीहरु एक अर्कालाई सिध्याउनेमा लागे । अब यी साना पार्टीले रजाई गरे हामीले तिनीहरुले दिएको मात्रखाएर बस्न पर्नेभयो भनेर फेरि उनीहरुको चोचो मोचो मिलाई राखेका छन् । त्यसकारणले के गर्छन् भनेर भन्न सकिन्न ।’
सांसद केसीले नेपालमा देशको सार्वभौम सत्ता विक्री गरेर खानेहरु रहेको जिकिर गर्दै छिमेकीको रणनीति बुझेर काम गर्नुपर्ने पनि बताए ।





























प्रतिक्रिया