नेकपा विभाजन हुँदैनः प्रचण्ड

नेकपा विभाजन हुँदैनः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विभाजन नहुने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आइतबार कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । पार्टी एकतालाई अक्षुण्ण राख्ने उनको भनाइ छ । ‘पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु’–प्रचण्डले भने–‘अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।’ उनले सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा पनि जोड दिए ।

पार्टीभित्र गम्भीर समस्या सृजना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै उनले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै प्रचण्डले भने–‘ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।’

चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै उनले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिए । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए । हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै उनले भने–‘संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।’ पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न उनले कर्ताकर्तालाई आग्रह समेत गरे ।

संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उनले भने–‘हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्राका लागि काम गरेका छौँ ।–रासस

Logo