राष्ट्रिय जन कंग्रेसको निमन्त्रणामा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गएको साता गरेको चीनको औपचारिक भ्रमणपछि त्यसका सकारात्मक परिणामहरु आउन थालेका छन्।
अध्यक्ष तिमिल्सिना र चीनको उच्च नेतृत्वका बिचमा भएका छलफलका बिषयहरुमा चीनले सकारात्मक चाँसो राख्दै कार्यान्वयनका लागि पहल थालेको अध्यक्षको सचिवालयले जनाएको छ। नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना जेठ २७ देखि असार ६ गतेसम्म दश दिन चीनको भ्रमण गरेका थिए।
भ्रमणका क्रममा छलफलमा बढी जोड दिइएको पोखरा विमानस्थलमा नियमित उडान गर्ने र नेपालका कृषिजन्य उत्पादनलाई चीनमा सहज प्रवेश दिने बिषय चीनले कार्यान्वयन गर्न थालेको हो । चीनको सिचुवान प्राप्तको छेन्दुबाट पोखरा नियमित उडान सञ्चालन गर्ने बिषयमा नेपाली पक्षसँग छलफलका लागि सिचुवान एयरलायन्सका अध्यक्ष मा जून लुन नेपाल आउन लागेको जानकारी चीनियाँ दुतावासले दिएको छ।
नेपालको नागरिक उड्डयन प्राधिकरणसहितका निकाय तयार भएमा छिट्टै नियमित उडानका लागि सिचुवान एयरलायन्स तयार देखिएको हो। नेपालले त्यसका लागि आवश्यक तयारी गर्न सिचुवान एयरलायन्सले आग्रहसमेत गरेको छ।
यसैगरी चीनको स्वशासित क्षेत्र तिब्बतमा नेपालमा उत्पादन गरिने तयारी घाँस (साईलेस) निर्यातका लागि चीन सकारात्मक भएको छ। घाँस उत्पादक र तिब्बत सरकारका बिचमा सहमति समेत भइसकेको छ भने दुई सातापछि घाँस निर्यात थालिने ब्यबसायीले जानकारी गराएका छन्। तिब्बतमा चौंरीका लागि यो घाँस प्रयोग हुन्छ।
अध्यक्ष तिमिल्सिना र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीका बिच भएको भेटवार्ताका क्रममा सिधा उडानको बिषय उठान भएपछि असार ६ मा चार्टड उडान भइसकेको छ। अध्यक्ष तिमिल्सिनाले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका बिभिन्न शहरबाट सिधा उडान गर्न आग्रह गरेका थिए।
अध्यक्ष तिमिल्सिनाको आग्रह अनुसार नै पोखरामा भएको ड्रागन बोट फेस्टिबलका सहभागीहरु नियमित उडानबाट काठमाण्डौ आउने तयारीमा रहे पछि चीनले सिचुवान एयरलायन्सको बिमान चार्टड गरेर नेपाली संसदीय प्रतिनिधी मण्डलका सदस्य र खेलाडीहरुलाई पोखरा पठाएको थियो।































प्रतिक्रिया