चिनियाँ राजदूत होउ यान्छीको सक्रियता, आजै कांग्रेस र जनता समाजवादी बीच भेटवार्ता

चिनियाँ राजदूत होउ यान्छीको सक्रियता, आजै कांग्रेस र जनता समाजवादी बीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीको पछिल्लो समय सक्रियता बढेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक विवाद सतहमा आइरहेका बेला उनको सक्रियता बढेको हो । राजदूत यान्छीले मंगलबार बिहान पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेतवार्ता गरेकी छन् । राजदूत यान्छीले डल्लुस्थित खनाल निवास पुगेर भेटवार्ता गरेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा छलफल गरिएको विवरणहरु सार्वजनिक भएका छन् । आइतबार साँझ मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता एवम विदेश विभाग प्रमुखसमेत रहेका माधवकुमार नेपाललाई पनि भेटेकी थिइन् । नेकपाभित्र वार की पारको अवस्थामा विवाद पुगेको बेला नेता नेपाललाई कोटेश्वर निवास पुगेर राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि भेटेकी थिइन् । यसअघि राजदूत यान्छीले वैशाख १९ मा दाहाल र नेपालसँग छुट्टा–छुट्टै भेटवार्ता गरेकी थिइन् । जतिबेला नेकपा फुटको अन्तिम संघारमा पुगेको थियो । राजदूत यान्छीले दुई नेतासँग भेटवार्ता गरेको अर्को दिन नै विवाद साम्य भएको थियो । जसले गर्दा अहिलेसम्म प्रचण्ड शान्त भएका छन् । अहिले पनि राजदूत यान्छीले भेटवार्ता गरेपछि नेकपाभित्रको विवाद साम्य हुने अड्कलबाजी गरिएको छ ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेतवार्ता भएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । दुई दलका शीर्ष नेताहरुबीचको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जनाइएको छ । भेतवार्तामा दुबै पार्टीका नेताहरुले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेका छन् । सरकारले प्रभावकारी कदम चाल्न नसक्दा महामारी थप फैलिइरहेको उनीहरुको भनाइ छ । पार्टीको आन्तरिक द्वन्द्वका कारण हठात चालू संसद अधिवेशन अन्त्य गरिएको विषयमा समेत छलफल भएको जनाइएको छ । भेटवार्तामा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला उपस्थित थिए भने जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई सहभागी थिए ।

त्यस्तैगरी नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा जारी वान टु वान वार्ता विना निष्कर्ष टुंगिएको छ । पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबार बस्नेछ । बैठक बस्नुअघि पुनः दुई अध्यक्षबीच छलफल हुने जनाइएको छ । सहमतिका लागि भन्दै २० गतेदेखि जारी दुई अध्यक्षको वार्ताले कुनै ठोस नतिजा भने ल्याउन सकेको छैन । जसले स्थायी कमिटीको बैठक पटक पटक स्थगित हुँदा आएको छ ।

Logo