सर्वोच्च अदालतको आदेश अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज सकिँदैछ।
प्रदेश प्रमुख खापुङले साँझ ५ बजेसम्म संविधानको धारा १६८को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।तर, अहिलेसम्म नयाँ मुख्यमन्त्रीको टुंगो लागि सकेको छैन।
सत्ता गठबन्धनमा रहेका राजनीतिक दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई साथमा लिगेर मुख्यमन्त्रीसहित कोशी प्रदेशमा सरकार गठनको प्रयास जारी राखेको छ। एमालेले पनि राप्रपालाई नै विश्वासमा लिगेर संविधानको धारा १६८को ३ अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ।
राप्रपाको समर्थन पाउने विश्वाशिलो आधार नपाएपछि सत्ता गठबन्धनमा रहेका दलहरूले सभामुख बाबुराम गौतमलाई राजिनामा गरेर भएपनि मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।
तर,गौतले सभामुखबाट राजीनामा गरेपछि आफैं मुख्यमन्त्री हुनुपर्ने अडान राख्दा सहमति जुट्न सकेको छैन । दलहरूले साँझ ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न कोशी प्रदेशमा मात्र होइन काठमाडौँमा पनि छलफललाई तीब्र बनाएका छन्।
कोशी प्रदेशसभामा एमाले ४० कांग्रेस २९,माओवादी केन्द्र सभामुखसहित १३, राप्रपा ६ नेकपा एकीकृत समाजवादी (नेकपा एस) ४ र जनता समाजवादी पार्टी (जसपा) १ गरी ९३ सदस्य छन्। सरकार गठनका लागि बहुमत पुर्याउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। सभामुखसहित गठबन्धनमा ४७ सांसद छन्।
सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको थियो ।





























प्रतिक्रिया