‘प्रचण्डको विकल्प अहिले कसैले खोजेको छैन, सहयोग गरेर जान तयार छु’ -वर्षमान पुन

‘प्रचण्डको विकल्प अहिले कसैले खोजेको छैन, सहयोग गरेर जान तयार छु’ -वर्षमान पुन

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् । 

राजधानीमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै उपमहासचिव पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उल्लेख गरे । 

उनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए ।  ‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ’, पुनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।’ उनले भने । 

उपमहासचिव पुनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि  खिचेको सामूहिक तस्बीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो । गृह जिल्ला रोल्पाकी शहीद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बीरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए । 

बैठकमा उनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए । भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो । 

उपमहासचिव पुनले अध्यक्ष प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए । ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने, ‘ उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔं ।’ पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको उनले चर्चा गरे । 

पार्टी संगठनमा तीन एकको (पाका, प्रौढ र युवा) नीति लागू गर्नुपर्ने विचार उपमहासचिव पुनले व्यक्त गरे । पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे । पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रूप फेरिएको बताए । यस्तो अवस्थामा सरकार प्रमख मोर्चा भएको निस्कर्ष उनको थियो । उनले डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखे ।

फरक प्रसंगमा उनले आफू लामो समय स्वास्थ्य उपचारमा संलग्न हुनुपरेका कारण पार्टी नेता कार्यकर्ताका बीचमा उपस्थित हुन नसकेको स्मरण गरे । पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डको पहलमा चीनमा उपचार गराएर फर्किएको र पूर्ण स्वस्थ भएको जानकारी केन्द्रीय समितिलाई गराए ।

Skip This
Skip This
Logo