काठमाडौं ।
नेपाली काँग्रेसले वर्षायाम शुरु भएसँगै मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्षति न्यूनीकरणका लागि तत्काल उद्धार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलले आइतबार एक विज्ञप्तिमार्फत बाढी, पहिरो र डुबानमा बेपत्ता भएका व्यक्तिको तत्काल खोजी गरी उद्धार गर्न, घाइतेको स्वास्थ्य उपचारको व्यवस्था गर्न आग्रह गरेको हो ।
काँग्रेसले विस्थापित भएका घरपरिवारलाई सुरक्षित स्थानमा पुनःस्थापन गरी राहत वितरणका साथै मृत्यु भएका घरपरिवारलाई उचित क्षतिपूर्ति दिन पनि सरकारसँग माग गरेको छ । वर्षायाम शुरुआत भएसँगै देशभरका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण पहाडी भेगमा बाढी र पहिरो तथा तराई क्षेत्रमा डुबानका घटना घटिरहेका छन् ।
यस वर्षको मनसुन शुरु भएदेखि बाढी, पहिरो र डुबानका कारण बझाङ, पाल्पा, गुल्मी, स्याङ्जा, गोरखा, लमजुङ, दार्चुला र सल्यान लगायतका स्थानमा हालसम्म करिब दुई दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन् भने केही व्यक्ति घाइते र बेपत्ता छन् । त्यसैगरी दर्जनौँ घरमा क्षति पुर्याएको छ ।
नेपालमा केही समय मनसुन अझ सक्रिय हुने भएकाले भविष्यमा अझ बढी बाढी, पहिरोको तथा डुबानको उच्च जोखिम रहेको भन्दै संसदीय दलले जोखिमयुक्त स्थानलाई पहिचान गरी त्यहाँका नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यस्थापन गर्न र जनताको जीउधनको सुरक्षाका लागि सम्बन्धित पक्षसमक्ष आग्रह गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बाढी, पहिरो तथा र डुबानमा परी घाइते भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण र मृतक परिवारजनमा समवेदना प्रकट गरेका छन् ।































प्रतिक्रिया