एमालेले चार पटक किन गर्‍यो संसद अवरुद्ध

एमालेले चार पटक किन गर्‍यो संसद अवरुद्ध


प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको बजेट अधिवेशन सुरु भएपछि चार पटक प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । गत माघमा पुष्पकमल दाहाल नेतृत्व सरकारबाट बाहिरिएको एमालेले जारी संसदको अधिवेशनमा विभिन्न विषयहरू उठाउँदै पटक–पटक बैठक अवरुद्ध गर्दै आएको हो ।

प्रमुख प्रतिपक्षी एमाले जेठ १२ गते माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर तत्कालिन प्रधनमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।

एमालेसहितका विपक्षी दलहरू राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै जेठ २१ गते देखि पनि बैठक अवरुद्ध गरेका थिए । शीतलनिवासमा थन्किएको नागरिकता विधेयक जेठ १७ गते राष्ट्रपति पौडेलले विधि र प्रक्रिया मिचेर प्रमाणीकरण गरेको भन्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका हुन् ।

त्यस्तै, एमालेले असार २० गते प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा व्यक्त अभिव्यक्तिलाई लिएर संसद बैठक अवरुद्ध गरेका थिए । त्यतिवेला आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्दै दाहालले दिएको विवादित अभिव्यक्तिले उनी पदमा रहिरहने नैतिक आधार गुमाएको निष्कर्षका साथ एमालेले संसद् अवरुद्ध गरेको थियो ।

साउन १० गते देखि एमालेले त्रिभुवन विमानस्थलमा भएको सुन तस्करीमा गृहमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाउँदै उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै आएका छन् । मंगलबारको बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले बोलेपछि गृहमन्त्रीले उठेका प्रश्नमाथि स्पष्ट पारेका थिए । उनले सरकारको छानविनमाथि विस्वास गर्न आग्रह गर्दै सिआइबीले गर्ने ३५ दिने अनुसन्धानलाई समय दिन अनुरोध पनि गरे । तर, सरकारले गरेको छानविनलाई विस्वास गर्न नसकिने र गृहमन्त्रीले हिजोको बैठकमा उच्चस्तरीय छानविन समिति गठनको प्रतिवद्धता नजनाएको भन्दै एमालेका सांसदले गृहमन्त्रीको जवाफपछि नारावाजी सँगै संसद अवरुद्ध गरे । 

एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तापक्ष प्रमुख प्रतिपक्षले उठाएको विषयमा गम्भीर नदेखिएको बताए । सरकार विपक्षलाई पेलेर अघि बढ्न खोजेको आरोप उनले लगाए । 

Logo