काठमाडौं ।
सांसद गगन थापाले आफूमाथी उठेका प्रश्नहरुको प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनु पर्ने बताएका छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीले गोकुल बास्कोटा प्रकरणबारे संसदमा आएर यसको जवाफ दिनु पर्ने बताएका हुन् ।
प्रधानमन्त्री डाँडाकाँडा, ताल तलैया हेरर बस्ने होइन संसदमा आउनु पर्छ । प्रश्नको सामाना गर्नुपर्छ । निम्छरो प्रश्न होइन सहि प्रश्नको उत्तर दिनुपर्छ, थापाको आक्रोश थियो ।
सेक्युरिटी प्रेस खरिदको विषयमा मात्र नभएर अन्य ठेक्काबारे पनि प्रधानमन्त्री जानकार रहेको तर परिस्थिति आफ्नो काबु बाहिर गएपछि गोकुल बास्कोटालाई बलिको बोका बनाइएको टिप्पणीहरु भइरहेको थापाको भनाई थियो ।
प्रधानमन्त्रीलाई सबै कुरा थाहा छैन भने उहाँलाई के थाहा छ ? थापाको प्रश्न थियो । पहिले प्रधानमन्त्री मार्क्सवादी जस्तो त्यसपछि समाजवादी जस्तो र अहिले जताबाट हेरे पनि यतीवादी जस्तो देखिएको नेकपाकै नेता कार्यकर्ताले बताउने गरेको सांसद थापाले टिप्पणी गरे।
एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्न खोजेको कुरा के हो ? भन्दै थापाले प्रधानमन्त्रीको जन्मदिनले नागरिकले पूर्वराजाको न्यास्रो मेटाएको बताए ।
प्रकाशित: १३ फागुन २०७६ १५:११ मंगलबार