दुई विशाल अर्थतन्त्रबाट लाभ उठाउने गरी नीति बन्नुपर्छः महामन्त्री शर्मा

दुई विशाल अर्थतन्त्रबाट लाभ उठाउने गरी नीति बन्नुपर्छः महामन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, दुई ठूला छिमेकीको आर्थीक प्रगतिबाट लाभ उठाउने गरी नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। 

काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पोलिसी ह्याकथन समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले विश्व अर्थतन्त्रकादुई ठूला छिमेकीको रुपमा रहेको नेपालमा विकासको नीति बनाउदा युवालाई समेट्नुपर्ने भन्दै समुन्द्र नहुनुको पीडाबाट मुक्त हुनुपर्ने धारणा राखेका हुन्। 

उनले भने,‘हाम्रो उत्तरमा र दक्षिणमा भएको विशाल अर्थतन्त्रबाट लाभान्वित हुनुपर्छ। यो बेलामा हामी युवाहरुको बीचमा उभिएर भन्न चाहान्छौँ,समुन्द्र नहुनुको पीडाबाट नेपाल मुक्त हुनुपर्छ।’

उनले सन् २०५० सम्ममा उत्तरी छिमेकी चीनको अर्थतन्त्र ५८ ट्रिलियन र दक्षिणी छिमेकी भारत ४६ ट्रिलियन अमेरीकी डलरको अर्थतन्त्र हुने भन्दै उनले यी दुई विशाल अर्थतन्त्रबाट लाभान्वित हुन युवा लक्षित विषय र नीतिलाई राजनीतिक दलले समेट्नुपर्ने बताए।

‘हामी प्रकृतिको समुन्द्रको बीचमा भएर होला तर, दुईवटा प्रगतिको समुन्द्रको बीचमा जाँदैछौँ। त्यो बेलामा नेपाली काँग्रेस पार्टी होस् वा अन्य कुनै राजनीतिक दलले आफ्नो काम गर्ने शैलीमा युवाले सोचिरहेको विषय र नीतिहरुलाई देशको गम्भीर केन्द्रमा राख्नुपर्छ।’

नेपाली काँग्रेसले देशभरीका युवाका विचार,विषय र नीतिलाई महत्व दिँदै पार्टीमा तिनका एजेण्डालाई स्थान दिने हेतुले पोलिसी ह्याकथन कार्यक्रमको आयोजना गरेको छ।

अनलाइन आवेदन मार्फत नीति पत्र पठाउने २२७ टोली मध्येबाट छानिएका १० उत्कृष्ट टोलीको नीतिपत्र आज प्रस्तुत गरिँदैछ। नीतिपत्र प्रस्तुत भइसकेपछि आज दिउँसो उत्कृष्ट हुनेलाई काँग्रेस सभापति शेरबहादुर देउवाले कदरपत्र सहित सम्मान गर्नेछन्। 

Logo