उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न आग्रह गरेका छन्।
प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति नेपालको पहिचान हो भन्दै विधितासहितको एकतालाई कायम राख्न आग्रह गरेका हुन्।
धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन उनको आग्रह छ। गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुन बमोजिम कारवाही गर्ने चेतावनीसमेत दिएका छन्।
गौ हत्याकाण्डबारे पत्रकारहरुले गरेको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले अनुसन्धान रोकिएको नभई थप अनुसन्धान भइरहेको जिकिर गरे। उनले भने,‘अनुसन्धानका क्रममा थप केही कुरा बुझ्नुपर्ने हुन्छ,त्यसैले थप अनुसन्धान भइरहेको छ,यस बारेमा उचित निर्णय लिएर अघि बढ्छौँ।’
भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याएका उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याइ दोषीलाई कानुनी दायरामा ल्याउने दृढतासमेत व्यक्त गरे।
ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उनले बताए। सरकारले सुशासन, सम्वृद्धि र सामाजिक न्यायलाई केन्द्रीत गरी काम अघि बढाएको उनको भनाई छ।





























प्रतिक्रिया