नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनले मुलुकमा नयाँ संवाद सुरु भएको बताएका छन् । उनले परिवर्तन उल्ट्याउन खोज्नेविरुद्ध समाजवादी मोर्चा बनेको पनि बताए ।
समाजवादी मोर्चाले आज बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मोर्चा गठनको अवस्थामा आउँदा नयाँ आन्दोलनको रूपमा विकसित हुँदै गएको बताएका हुन् । “मोर्चाभन्दा बाहिर रहेका शक्तिले जातीय द्वन्द्व निम्त्याएर परिवर्तन उल्टाउन खोज्दैछन्”, उनले भने, “प्रतिक्रियावादी जातीय द्वन्द्व भड्काउने, जनताले लडेर ल्याएको व्यवस्थालाई भड्काएर बदनाम, अपमानित गर्ने, लडाउने प्रयत्न गर्दैछन् ।”
प्रधानमन्त्री दाहालले जनयुद्धको नेतृत्व, जनताको बहुदलीय जनवादको नेतृत्व र मधेसमा आन्दोलनको लहर चलाएका शक्ति समाजवादी मोर्चामा एकीकृत भएर नयाँ क्रान्तिको तयारीमा रहेकोसमेत बताए । उनले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको संयोजन समाजवादी मोर्चा भएको बताए । “मोर्चामा आबद्ध दलहरुका साझा अनुभव साझा सम्पत्ति हुन”, उनले भने, “तिनलाई एकीकृत गर्नुपर्छ, यस्ता विषयलाई गम्भीरता साथ आत्मसात् गर्न अनुरोध गर्दछु ।”
सरकारले सुशासनका पक्षमा काम गर्दा जनतामा केही हुन्छ कि भन्ने उत्साह बढेको छ बताउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागेको र मित्रराष्ट्रसँग पनि गहनरूपले छलफल भइरहेको बताए ।





























प्रतिक्रिया