रक्षा बन्धनले नेपाली राष्ट्रिय एकतालाई बलियो बनाएको छः उपराष्ट्रपति यादव

रक्षा बन्धनले नेपाली राष्ट्रिय एकतालाई बलियो बनाएको छः उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता,अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुर्‍याएको बताएका छन्।

नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धनको शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले सो कुरामा विश्वास व्यक्त गरेका हुन्।

‘नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु-वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, वर्ग, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई आपसमा जोड्ने काम गरेको छ, नेपालमा बसोबास गर्ने विभिन्न समुदायले एकै तिथिमा मनाउने रक्षा बन्धन र जनैपूर्णिमा पर्व तथा क्वाँटी खाने परम्परा वर्षौंदेखि सांस्कृतिक त्रिवेणीका रूपमा प्रचलनमा रही आएको छ’, सन्देशमा भनिएको छ । यस्ता पौराणिक पर्व एवं सांस्कृतिक परम्परालाई हामी सबैले सौहाद्र्रपूर्ण माहौलमा मनाउनु पर्दछ भन्ने उनको भनाइ छ।

तराई-मधेसतिर भाइबहिनीबीच स्नेह, प्रेम बाँड्ने पर्वका रूपमा धुमधामका साथ रक्षा बन्धन मनाइन्छ। यो पर्वमा दिदीबहिनीले दाजुभाइको निधारमा रातो टीका लगाउने, आरती उतार्ने र हातमा ‘राखी’ (डोरो) बाँधेर सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्छन्।

दाजुभाइले पनि दिदीबहिनीको रक्षाको सङ्कल्प लिँदै आफ्नो स्नेहाभाव दर्साउने गर्छन्। यसले परस्पर आत्मीयता र स्नेहको बन्धनलाई थप बलियो बनाउनुको साथै सामाजिक तथा पारिवारिक ऐक्यबद्धता एवं एकसूत्रमा बाँध्न गर्न सहयोग पुग्छ।

यो पर्वमा कतै-कतै पुरोहित तथा आचार्य बिहानै यजमानको घर पुगेर डोरो बाँध्ने र उपहारस्वरूप धन, वस्त्र र भोजन आदि प्राप्त गर्ने चलन पनि रहिआएको पाइन्छ। यसले आपसी सद्भाव बढाउनुका साथै विभिन्न जातजातिबीचको सम्बन्धलाई थप समृद्ध र प्रगाढ बनाउँछ।

त्यसैगरी, जनै पूर्णिमाका रूपमा मनाउने पवित्र जलाशयमा स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्छन्। अरुन्धतीसहित आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।

आजकै दिन ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा पनि रहिआएको छ। यसले शरीरमा रोग नलाग्ने र पेट सफा हुने आयुर्वेद शास्त्रीय मान्यता छ। हाम्रो स्वास्थ्यका लागि कृषि उपजको महत्त्वलाई यसले दर्शाउँदछ।

आजकै दिन नेपालका केही पवित्र धार्मिकस्थलमा मेला पनि लाग्ने गर्छ। यो मेलाले आन्तरिक पर्यटनको क्षेत्रमा टेवा पुर्‍याउने गर्छ। यसलाई विदेशी पर्यटक भित्र्याउने माध्यम बनाई यसबाट यथेष्ठ आयआर्जन गरी मुलुकको अर्थतन्त्रलाई सुदृद्ध र सबल बनाउनतिर केन्द्रित हुन आवश्यक रहेको उपराष्ट्रपति यादवको भनाइ छ।

Logo