सभामुख घिमिरेसँग अमेरिकी सिनेटरको शिष्टाचार भेट

सभामुख घिमिरेसँग अमेरिकी सिनेटरको शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेसँग अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले शिष्टाचार भेट गरेका छन् ।  

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको थियो । 

भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताए । उनले उच्च स्तरीय भेटघाटको आदानप्रदानले दुई देश बीचको सम्बन्ध र बुझाईलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

‘नेपालको विकास प्रक्रियामा संयुक्त राज्य अमेरिकाको सहयोग महत्वपूर्ण रहेको छ,’ उनले भने, ‘नेपालको आर्थिक सामाजिक विकासका लागि संयुक्त राज्य अमेरिकाले पुर्‍याउँदै आएको सहयोगमा आएको गुणात्मक एवम् परिमाणात्मक अभिवृद्धिले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’

No description available.

लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता हामी दुई मुलुकहरुबीच रहेको साझा मूल्य मान्यताहरु भएको बताउँदै सभामुख घिमिरेले नेपाल लोकतन्त्र संस्थागत गर्ने यात्रामा अगाडि बढेको उल्लेख गरे । लोकतन्त्रको सबलीकरणका लागि बलियो आर्थिक आधार आवश्यक रहेको उनको भनाइ थियो ।

सभामुख घिमिरेले नेपाल र संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीचको भ्रमणको आदानप्रदानबाट दुई देशको संसदीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले गर्दा नेपालका हिमालहरु पग्लिरहेको बताउँदै अमेरिकाले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको न्यूनीकरणका लागि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

No description available.

भेटमा सिनेटर होलेनले नेपालमा गतिशील प्रजातन्त्रको जन्म भएको बताउँदै यस प्रक्रियामा भूमिका खेल्ने नेपालका राजनीतिक दललाई धन्यवाद व्यक्त गरे । ‘हामी दुई देशका संसदमात्रै जनता–जनतामा सम्बन्ध स्थापित गर्न चाहन्छौं,’ उनले भने ।

नेपालमा एमसीसी कार्यान्वयन सुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिने धारणा राखे । ‘एमसीसी दुई देशबीचको सम्बन्ध र सहकार्यको उदाहरण हो,’ उनले भने, ‘हामी एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं ।’

Logo