कोशीको स्थायित्वको लागि कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छः राजेन्द्र लिङ्देन

कोशीको स्थायित्वको लागि कांग्रेस-एमाले मिलेर सरकार बनाउनुपर्छः राजेन्द्र लिङ्देन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकारमा जाने विषय आफ्नो पार्टीको प्राथमिकतामै नभएको दाबी गरेका छन् । 

शनिबार मोरङ पुगेका अध्यक्ष लिङ्देनले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कोशी प्रदेशको स्थायित्वको लागि ठूला दल एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् । उनले कोशीमा एमाले नेतृत्वको सरकारमा जाने विषयमा कुनैपनि छलफल नै नभएको दाबी गरे । 

उनले भने, ‘यो विषयमा अहिले कुनैपनि छलफल नै भएको छैन । हामीले त स्थायित्व चाहिएको हो भने सकेसम्म कांग्रेस र एमाले मिलेर सरकार बनाउनु भनेका छौँ । हाम्रो त प्रदेश प्राथमिकताको विषय नै होइन ।’ 

कुनै पनि सरकार आफ्नो प्राथमिकतामा नभएको जिकिर गरेका अध्यक्ष लिङ्देनले कोशीमा अब एमाले र कांग्रेस मिल्नै नसक्ने अवस्था आयो भने संविधानको रक्षार्थ आफ्नो मत दिने स्पस्ट पारेका छन् । तर, उनले कोशीमा एमाले र कांग्रेस मिलेरै प्रदेश सरकारलाई स्थायित्व दिनुपर्नेमा जोड दिए । 

‘अहिले हामी कुनै पक्षमा नलागिदिदा खेरी यहाँ प्रदेश सभा नै विघटन हुनसक्ने परिस्थिति बनेको अवस्था छ । तर,त्यो कुनबेला हो भन्दा कांग्रेस र एमाले मिलेन भने हो ।’ उनले भने ‘त्यो अवस्थामा मात्रै हामी कतै लागिदिए हुन्थ्यो भन्ने कुरा हो र सबैभन्दा पहिलो उपयुक्त कुरा त अहिलेको व्यवस्थाको संस्थापकहरु मिलेर यो प्रदेश सभालाई जोगाए राम्रो हुन्थ्यो । त्यसको मौका अझै तीस दिन छ, अझै अर्को धारा बाँकी छ । मेरो शुभकामना छ कांग्रेस र एमाले मिलेर यहाँ सरकार बनोस ।’

त्यस्तै, अध्यक्ष लिङ्देनले विनासर्त आफ्नो पार्टीले एउटा संसदीय समितिको नेतृत्व गर्ने मौका पाएको दोहोर्याएका छन्। कोशी प्रदेशको सरकारमा सहभागी गराउन सत्तापक्ष नेकपा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व पाएको कुरामा कुनै लेनदेन नभएको उनको भनाई रहेको छ । 

‘खासगरी राष्ट्रिय मान्यता प्राप्त दलहरुलाई संख्याको आधारले समितिमा प्रतिनिधित्व गराउने भन्ने कुरा प्रारम्भदेखि उठिराको थियो । बीचमा त्यो भत्किएको थियो । हामीले दावी गर्‍याैं र अहिले सक्तामा बसेको दलहरु र प्रमुख प्रतिपक्षले स्वीकार गर्‍याे र हामीले आफ्नो सिट संख्या अनुसार एउटा समितिको नेतृत्व गर्ने मौका पाएका छौ । त्यसमा कुनै प्रकारको लेनदेन छैन ।’ 

Logo