संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्नुहुन्नः महासचिव वैद्य

संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्नुहुन्नः महासचिव वैद्य

केन्द्रबिन्दु
0
Shares

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)ले नवउद्धारवादलाई आफ्नो आदर्श बनाएकाले नेपालमा विकास सम्भव नभएको बताएका छन् । 

पूर्व क्रान्तिकारी माओवादी, पूर्व नेकपा बहुमत र पूर्व क्रान्तिकारी कम्युनिष्ट लिग निकट तीन वटा ट्रेड युनियन महासंघबीचको एकता अधिवेशनमा उनले वर्तमान व्यवस्थाबाट जनता वाक्क भएको भन्दै नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्था,  वर्तमान राज्य संस्थाको विकल्प खोजिनु पर्ने बताएका हुन् । 

उनले भने, ‘यो सत्ता व्यवस्था नाङ्गिएको छ त्यसकारण संगठन बलियो बनाएर योजना वद्ध ढङ्गले जनसंघर्षमा लाग्नु पर्छ । नयाँ नेपालमा वर्तमान संसदीय व्यवस्थाको, वर्तमान राज्य संस्थाको विकल्प हामीले दिनुपर्छ । जनता वाक्क भएको छ । यहाँ विकास रुपान्तरणको धेरै कुरा गर्छन्, तर नवउद्धारवादलाई आफ्नो आदर्श बनाएर नेपालमा विकास असम्भव छ ।’ 

उनले अहिलेको मुख्य चुनौती भनेको दलाल पुँजीवाद र देशको पूरानो व्यवस्थालाई बचाएर राख्ने साम्राज्यवाद र विस्तारवाद रहेको भन्दै त्यसको लागि दृढतापूर्वक लड्न आवश्यक भएको बताए । 

महासचिव वैद्यले संदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्न नहुने बताए । उनले भने, ‘नेपाली काङ्ग्रेस संसदमा बसेका र सरकारमा बसेका सबै कम्युनिष्ट त्यो मात्रै होईन हिजोका राप्रपा पनि सबैलाई जोड्ने हो भने सबैले संसदीय व्यवस्था र संविधानको रक्षा गर्नुपर्छ भन्छन् एउटै त हो केही फरक छैन् । पूरानो राज्य संस्था र व्यवस्थालाई यीनिहरुले जोगाएर राखेका छन्, त्यसलाई भत्काएर माक्सवाद, लेलिनवाद र माओवादका आधारमा जनवादी क्रान्ति हुदैँ वैज्ञानिक समाजवादमा जानुपर्छ । हामीले स्थापना गर्ने अन्तिम लक्ष्य हो साम्यवाद, त्यसका लागि संघर्ष गनुपर्छ र त्यसमा मजदुर साथिहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।’ 

महासचिव वैद्यले मजदुर संगठनलाई बलियो बनाउन  र कम्युनिष्ट पार्टीलाई बलियो बनाउनको लागि मजदुर शक्तिहरुलाई गोलबन्द गर्दै अगाडि बढ्नु पर्ने बताए । कम्युनिष्टहरुलाई क्रान्तिकारी बनाउँनको लागि पनि मजदुरको महत्वपूर्ण भूमिका रहेको उनको भनाई छ।

Logo