पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका उनलाई गएराति अचानक हृदयघात भएको हो। हृदयघात लगत्तै उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएका उनको उपचारको क्रममा निधन भएको थियो।
नेम्वाङको निधनप्रति नेकपा एमाले मात्र नभई सिँगाे देश नै मर्माहत भएको छ। सो क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको बताएका छन्। उनले नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
त्यस्तै, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन्। उनले दिवङ्गत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। नेम्वाङको निधनको खबरपछि उनी राति नै अस्पताल पुगेका थिए।
पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्। दिवङ्गत नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन्। भट्टराईले ट्विटमार्फत संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठुलो क्षति व्यहोरेको पनि बताएका छन्। उनले भनेका छन्,,‘आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठुलो क्षति व्यहोरेको छ। मैले आत्मीय मित्र गुमाएको छु।’
त्यस्तै, पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनी पनि नेम्वाङको निधनको खबरपछि अस्पताल पुगेका थिए।
एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनसँगै आफूहरुको ‘मियो ढलेको’ बताएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो। अभिभावक गुमायौँ। कहिल्यै बिर्सने छैनौँ। आदरणीय नेता सुवास नेम्वाङ ज्यू।’
चारपल्ट सभामुख बन्दा नेम्वाङ सधैं सर्वसम्मत भएका थिए। नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिन्छन्।
उनको निधनप्रति नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। नेम्वाङको पार्थीव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ।





























प्रतिक्रिया