राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

राजकीय सम्मानसहित सुवास नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती

केन्द्रबिन्दु
0
Shares

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  

मङ्गलबार बिहान हृदयघातका कारण निधन भएका नेता नेम्वाङकाे बिहीवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनको दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन्। 

नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो। 

यसअघि पशुपति आर्यघाटमा पुगेर नेम्वाङको पार्थिव शरीरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सरकारको तर्फबाट सम्मान व्यक्त गरेका थिए। 

साथै सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए।  

मङ्गलबार बिहान त्रिवि शिक्षण अस्पतालले मृत घाेषणा गरेकाे नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरिर मङ्गलबार दिउँसोदेखि दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखेर बुधवार बालुवाटारस्थित निवासमा लगिएको थियो ।

बिहीबार बिहान लिम्बू संस्कृतिअनुसार विधि गरी बालुवाटारस्थित निवासबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै नेम्वाङको शवयात्रा निकालेको थियो । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुर्याएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

नेता नेम्वाङकाे निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ ।

Logo