नेपाली काँग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदैछ।
दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण तथा शालिकमा माल्यार्पण गरिएको छ। मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको छ।
को हुन् गणेशमान ?
काठमाडौँको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए।भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला वीपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली काँग्रेस स्थापना गरेका थिए।
२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिन्थे।
२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे। जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ –फलाम जस्तो कठोर मानिस)को उपमा दिइएको हो।
२०३३ सालमा बीपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए। तर, तत्कालीन पञ्चहरूबाट बीपीसँगै उनलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो। उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
बीपीको निधनपछि काँग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए।





























प्रतिक्रिया