माधव नेपालद्वारा संविधान दिवसको शुभकामना

माधव नेपालद्वारा संविधान दिवसको शुभकामना


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

संविधान दिवस, २०८० का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताएका हुन्।

जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै सन्देशमा उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे।

संविधानको कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको तथा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन आवश्यकता उक्त सन्देशमा औँल्याइएको छ। 

अध्यक्ष नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको उल्लेख गर्दै सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्तिबीच सहकार्य गर्नुपर्नेमा जोड दिए।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन परिवर्तनकारी शक्तिहरूलाई आग्रह गर्दै अध्यक्ष नेपालले उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

Logo