विमानस्थल कब्जा गरी सुन तस्करी गर्नेहरु नै सत्तामा बसेका छन्ः सांसद डा. शर्मा

विमानस्थल कब्जा गरी सुन तस्करी गर्नेहरु नै सत्तामा बसेका छन्ः सांसद डा. शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद तथा स्वास्थ्य व्यवसायी डा. सुनिल शर्माले विमानस्थल कब्जा गरेर सुन तस्करी गर्नेहरु यो देशको राज्य सत्तामा बसेको आरोप लगाएका छन् ।

साथै उनले दशौँ हजारको संख्यामा नेपाली नागरिकलाई रोजगारी दिने, सरकारलाई आफूले गरेको व्यवासायबाट कर तिर्ने तथा हजारौँ बिरामी परेका नागरिकलाई जिवन दिने स्वास्थ्य व्यवसायीहरुलाई तस्कर भन्ने गरेको गुनासो पनि गरे । 

एक सञ्चारमाध्यमसँगकाे अन्तर्वार्ताको क्रममा उनले भने, “हामीले सुन तस्करी गरेर फड्को मारेको प्रगति होइनौँ, हामी दर्दनाक परिस्थितीबाट आएका हौं । हाम्रा संघर्षका कथा त यिनीहरू सुन्न पनि सक्दैनन् ।”

सांसद डा. शर्माले कोरोनाको समयमा आफूहरुले तीन हजार शैय्या निःशुल्क रुपमा नेपाली जनतालाई प्रदान गरेको बताए । “मेरो जिवनमा मैले के बुझेको छु भने मेरो पार्टी भन्दामाथि नेपाली जनता र मेरो देश छ, मान्छे मरे जाने हो ।” उनले भने, “म चुनाव जितेर आएपछि जनताले आसा गरेका कुराहरु मेरो नेताले जनताको लागि बाेलोस् उसले जनताको वृति विकासका क्षेत्रमा काम गरोस्, भ्रष्टाचार नगरोस् भन्ने इच्छाअनुसार आफूले संसदमा आवाज उठाउने गरेको छु ।”

यसैगरी सांसद डा. शर्माले इन्टरनेसनल इन्टेलीजेन्स एजेन्सीको रिपोर्टअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएदेखि अहिलेसम्म नेपालको बाटो हुँदै चार सय टन सुन भारत गएको बताए । उनले भने, “विमानस्थलमा त्यत्रो सुरक्षा छ, यो देशको राज्य सत्तामा भएका टफ व्यक्तिहरु संलग्न नभएर कसरी सुन तस्करी हुन्छ ?” 

उनले थपे, “विमानस्थलमा सरकारी क्षेत्रबाट सुन पक्राउ गरेको देखियो, तर यथार्थ त्यो होइन अन्तर्राष्ट्रिय एजेन्सीले प्रधानमन्त्रीलाई हङकङबाट सुन आयो तिमीहरु पक्रिन्छौँ की हामी पक्राउ गराैँ भनेपछि पक्राउ गरिएको हो ।”

विमानस्थलको सुन तस्करीका विषयमा व्यवसायी दिपक मल्होत्रा र एक जना मारवाडीको नाम आयो । उक्त काण्ड मल्होत्रातिर मोड्न खोजियो तर त्यो सत्य नभएको उनको दाबी थियो । 

सांसद डा. शर्माले गृहमन्त्रीको मुखपत्र रहेको एक पत्रिकाको सम्पादकलाई फोन गरेर एमाले अध्यक्ष केपी शर्मा ओली र मल्होत्राकाे फोटोसहितको समाचार फ्रन्टलाईन छाप्न लगाइएको आरोप लगाए । 

प्रधानमन्त्री स्वयं र उनको परिवार, गृहमन्त्री एवं उनीहरुका परिवार, अर्थमन्त्री तथा उनीहरुका परिवार एवं उनका नेताहरुको संलग्नताबिना वा राज्य सत्ताको संरक्षणबिना सुन तस्करी सम्भव नभएको उनको आरोप छ । उनले भने, “अहिले कुरा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालको नाम सुन तस्करीमा आइरहेको छ, हाइलेभलका नेता, देशको गृहमन्त्री, अर्थमन्त्रीको संरक्षणबिना तस्करी सम्भव छैन ।” 

माओवादीमा कृष्णबहादुर महरा पपुलर नेता भएको र उनी पार्टीमा अध्यक्ष प्रचण्डभन्दा पपुलर हुँदा एउटा फण्डा लगाएर प्रचण्डले सिध्याउन खोजेको पनि सांसद डा. शर्माको आरोप थियो । अहिले अध्यक्ष प्रचण्ड पार्टीमा निकै कमजाेर आवस्थामा रहेको पनि उनले बताए । यसैगरी उनले प्रचण्डलाई पार्टी अध्यक्षबाट हटाउँछन् की भन्ने चिन्ता भएकाले पार्टीका पपुलर नेताहरुलाई विभिन्न फण्डा लगाएर सिध्याउन लागि परेको जिकिर गरे । 

प्रधानमन्त्री र गृहमन्त्रीले राज्यसत्ता प्रयोग गरेर माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई सिध्याउन लागिपरेको पनि सांसद डा. शर्माले बताए । उनले भने, “पार्टीमा पपुलर अवस्थामा रहेका वर्षमान पुन र जनार्दन शर्मालाई सक्ने खेल भएको छ, उहाँहरुका आफन्तलाई विभिन्न आरोप लगाएर तथा फोटो खिचेकै भरमा फण्डा बनाएर सिध्याउन लाग्नु भएको छ ।” 

सांसद डा. शर्माले नेपाली जनता अब यो देशका राज्यसत्तामा बसेकाहरुलाई विमानस्थल कब्जा गरेर तस्करी गर्न नदिने तथा नेपालको पैसा विदेश पठाउन नदिने तयारीमा रहेको बताए । उनले भने, “प्रचण्डले अहिले लगाउने घडी, उनी र उनकी छोरीको सुखसयल उनीहरूले बोक्ने ब्याग, उनले लगाउने ड्रेस, के जनयुद्धको मर्म र भावनाको उदेश्य त्यही थियो त ?” 

सत्तामा बसेका व्यक्तिहरुले गरेको भ्रष्टाचारका विषयमा अब नेपाली जनताले आवाज उठाउने उनको दाबी थियो । उनले भने, “हामी गरिबका छोराछोरी डाक्टर बनुन् भनेर लडेका हौँ । देश लुटेर, तस्करी गरेर हिँडेका छैनौँ ।”

यसैगरी सांसद डा. शर्माले अहिले छानी छानी बालकृष्ण खाण, आरजु देउवा, टोपबहादर राइमाझीलाई छानविन गरियो तर प्रधानमन्त्रीकी कान्छी पुत्री गंगा दाहालको नाम सुन तस्करीमा जोडिएकाले उनको बारेमा छानविन हुनुपर्ने बताए । 

उनले भने, “अब सुन काण्डको छानविन गर्ने हो भने प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालबाट सुरु गर्नुपर्छ । गंगा दाहालको सुन तस्करसँग जोडिएको टेलिफोन रेकर्डलगायतको विषयमा छानविन हुनुपर्छ । के प्रचण्डजीले आफ्नी छोरीको छानविन गर्ने हिम्मत राख्नुहुन्छ ?”

Logo