राष्ट्रपति पौडेलसहित भिभिआइपीहरू प्रति मेयर बालेनद्वारा आभार व्यक्त

राष्ट्रपति पौडेलसहित भिभिआइपीहरू प्रति मेयर बालेनद्वारा आभार व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरूलाई धन्यवाद दिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका थिए । काठमाडौँ महानगरले सवारी साधन निषेध गरेपछि राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका थिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो ।

त्यसकारण राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने र काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हुने भन्दै मेयर बालेनले आभार प्रकट गरेका हुन् ।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्विकार गरिदिनु भएकोमा आभारी छौँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

Logo