नेपाली कांग्रेसका सांसद सुनिल शर्माले राजनीतिक नेतृत्वको सोच परिवर्तन नभएसम्म जतिसुकै राम्रो विधेयक आएपनि केही नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथिको छलफलका क्रममा सांसद शर्माले राजनीति र उच्च तहमा बस्ने नेताहरूको सोच परिवर्तन नभएसम्म जति राम्रो विधेयक बनाए पनि निकम्मा भएर जाने टिप्पणी गरेका हुन् । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै एउटा शिक्षकले देशको नेतृत्व गर्दैगर्दा सँगैका साथीहरू जागिर जोगाउन सडकमा आउनुपरेको पनि बताएका छन् ।
‘अहिले देशको नेतृत्व प्रचण्डले गरिराख्नुभएको छ । कमरेड प्रचण्डको इतिहास हामीले कोट्याएर हेर्यौं भने अहिले जुन विधेयकमा हामी छलफल गर्दैछौं उहाँ यो विधेयक आउनुअघि नै मास्टर हुनुहुन्थ्यो । अहिले उहाँ देशको नेतृत्व गर्न आइपुग्नुभएको छ ।’ उनले भने, ‘हिजोअस्ति शिक्षक साथीहरू सडकमा हुनुहुन्थ्यो एउटा शिक्षक जो आज प्रधानमन्त्री बन्नुभएको छ सँगैको अर्को शिक्षक आफ्नो जागिर, जोगाउन र गाँस, बाँस कपालको लागि हात्तीछाप चप्पल लगाएर सडकमा छ । तर, यो देशको प्रधानमन्त्रीले लगाएको घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको छ । हाम्रो समस्या यहाँनेर हो ।’
सांसद शर्माले प्रधानमन्त्री प्रचण्डले लगाउने घडी र उनको छोरीले बोक्ने गुची ब्याग लिलामीमा राखेर नेपालको दूरदराजको स्कुलहरूमा सहयोग गर्न पनि आग्रह गरेका छन् । ‘बच्चाहरूले एकसरो लुगा लगाउन सकेका छैनन् तर, नेतृत्वको नियत सफा हुनुपर्यो । अहिले जनयुद्ध हाकेर आउनुभएको प्रचण्डको परिवारको सम्पत्तिलाई बिक्रीमा राखिदिनुभयो र दूरदराजको स्कुलमा हालिदिनुभयो भने नेपाली जनताले राम्रोसँग पढ्न पाउँछन् ।’ उनले भने ।































प्रतिक्रिया