इजरायली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदकाे टेलिफोन- नेपालीको शव पठाउने पहल गर्न आग्रह

इजरायली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदकाे टेलिफोन- नेपालीको शव पठाउने पहल गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । त्यस क्रममा उनले इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुको शव नेपाल फर्काउन पहल गरिदिन आग्रह गरेका छन् ।

उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुरा गर्दै विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताएका थिए ।
 
‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ । उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरु इजरायल जानुभएको थियो । दुःखद घटनाले गर्दा उहाँहरुका घरपरिवारका सदस्यहरु दुःखी र चिन्तित हुनुहुन्छ’ कुराकानीका क्रममा साउदले भने ।

उनले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका छन् ।

उनले भने, ‘महामहिमज्यू, अब हामीले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ । थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने छ । तसर्थ शवहरु नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु । त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चारजना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गर्न र आक्रमणपछि सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन इजरायल सरकारसँग आग्रह गरेको जनाएका छन् ।

उनले बंकरमा बसेका केही नागरिकहरुले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेको भन्दै उनीहरुको सुरक्षित क्षेत्रमा स्थान्तरणका लागि पनि सहयोग गर्न अनुरोध गरेका छन् । 

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताएका छन् । 

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेकोप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गर्दै इजरायल अहिले कठिन मोडमा रहेको पनि जानकारी गराएका थिए । 

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

Logo