कोशी प्रदेशमा नयाँ सरकार गठनबारे ठोस निर्णय गर्न बसेको नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति बैठक निष्कर्षविहीन भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठक कुनै ठोस निर्णय नगरी भोलि निरन्तरता दिने गरी सकिएको प्रवक्ता मिन विश्वकर्माले जानकारी दिए । आजको बैठकमा कोशीमा आफ्नो गुटका केदार कार्कीलाई एमालेकै सर्मथनमा भएपनि मुख्यमन्त्री बनाउने निर्णय लिएका नेता शेखर कोइराला नआएपछि बैठक सकिएको उनको भर्नाइ छ ।
उनले भने, ‘कोशीमा कांग्रेस फुटिहालेको अवस्था होइन । उहाँले अहिले असन्तुष्टि जाहेर गरिराख्नुभएको छ । सबै असन्तुष्टि विभाजनमा जान्छन् भन्ने छैन । यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने लागेको छ ।’
आजको बैठकमा शेखर कोइरालाको अनुपस्थितिलाई नेताहरुले संसयको रुपमा हेरेका छन् । ‘आज शेखर दाइको अनुपस्थितिलाई हामीले प्रतीक्षाको रुपमा लियौं । भोलि उहाँको उपस्थितिमा छलफल गर्छौं ।’ प्रवक्ता विश्वकर्माले भने ।
कांग्रेसबाटै मुख्यमन्त्रीमा अर्को नाम मुख्यमन्त्रीमा दिन वा गठबन्धनबाट उम्मेदवार इन्द्र आङ्बोलाई नै सघाउन गरेको आग्रह नेता डा.शेखर कोइरालाले अस्वीकार गरेका छन् ।
कांग्रेस नेताहरुको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहभागी भएर विकल्प नाम दिन भन्दा पनि शेखरले नमानेको प्रवक्ता विश्वकर्माले बताए । उनले भने, ‘कि गठबन्धनलाई स्वीकार्न कि अहिलेको लिष्टमा रहेका ७ जना बाहेक अन्यबाट नेतृत्व तय गर्न वा केदार कार्की बाहेक जो कोहीलाई अघि सार्न सकिने विकल्पमा उहाँ तयार हुनु भएन र बैठकमा पनि आउनु भएन् तै पनि भोलिसम्म कुरौं भन्ने कुरा भएको छ ।’
प्रवक्ता विश्वकर्माले प्रधानमन्त्री प्रचण्ड कांग्रेसले एकमतले निर्णय गरे इन्द्रलाई ब्याक गर्न तयार भए पनि शेखर बाधक बनेको बताए । नेता कोइरालालाई सभापति देउवाले कांग्रेसबाटै अर्को नाम प्रस्ताव गर्न भन्दा उनले केदार कार्कीलाई आफूले नै अघि सारेको भन्दै अरु विकल्पमा छलफल गर्न अस्वीकार गरेका थिए ।
आजै प्रदेश प्रमुखले मुख्यमन्त्री घोषणा गर्ने सम्भावना एकदमै कम रहेको कांग्रेसको निष्कर्ष छ । उनीसँग फेरि छलफल गर्ने र बैठक भोलिसम्म निरन्तर रहने प्रवक्ता विश्वकर्माले बताए ।





























प्रतिक्रिया