लम्बियो संसदको चालु अधिवेशन

लम्बियो संसदको चालु अधिवेशन

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता दसैँअगाडि सक्ने अभ्यास गरिएपनि यो वर्ष बजेट (बर्खे) अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ । 

शुक्रबार अधिवेशन अन्त्य गर्ने सत्तारूढ दलहरूबिचमा परामर्श भए पनि औपचारिक निर्णय भएन । सरकारले संसद् सचिवालयलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित नेपाल भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी दिएको छ । 

यसअघि सरकारले आज(असोज २७)नै महासचिव गुटेर्रेसले संघीय संसद्को बैठकलाई सम्बोधन गर्ने गरी अनौपचारिक तयारी थालेको थियो तर, इजरायलमाथि हमासको आक्रमणपछि गुटेर्रेसको सो भ्रमण स्थगित भएको थियो । भ्रमण कात्तिक ११ गते हुन सक्ने सम्भावना रहेको भन्दै संसदमा सम्बोधनका लागि अधिवेशन लम्ब्याइएको हो ।

यसैबिच प्रतिनिधि सभाले विद्युत् विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा विधेयकलाई समितिमा छलफलका लागि पठाइएको हो । विधेयकमाथि पूर्वाधार विकास समितिमा छलफल हुने छ । सो विधेयक भदौ २७ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । 
 

Logo