नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको जारी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस (कोभिड–१९) रहेकाले बैठकले लिने निर्णय दूरगामी र महत्वपूर्ण हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ । बैठकपछि सरकारलाई काम गर्न अझ सजिलो हुुने विश्वास पनि गरिएको छ ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने विषयवस्तुबारे दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । नेकपामा सबैभन्दा विवादित भनिएको विषय एमसीसी रहेको विश्लेषण गरिएको छ । स्थायी कमिटीमा यी विषयमा सर्वसम्मत निर्णय गर्न सके बैठकलाई ऐतिहासिक मान्न सकिने राजनीतिक विश्लेषक हरि रोक्काले बताए ।

यसअघि पार्टीका केन्द्रीय समिति र स्थायी कमिटी बैठक बसे पनि महत्वपूर्ण निर्णय हुन नसकेकाले यस पटकको बैठकबाट ठोस निर्णय आउने रोक्काको ठम्याइ छ । पार्टीले सावधानीपूर्वक निर्णय लिनुपर्ने सुझाव दिँदै उनले आफ्ना दुई छिमेकी राष्ट्रलाई चिढ्याउने गरी कुनै निर्णय लिन नहुने बताए।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल यो बैठकबाट निकै आशावादी छन् । नेताहरूको लामो गृहकार्यपछि यो बैठक बसेकाले कार्यान्वयनमै जाने गरी छलफल हुने सबैले विश्वास लिएको उनले बताए। बिहीबार पनि नेताले बैठकमा प्रस्तुत कार्यसूचीबारे छलफल गरेकाले बैठक फलदायी हुने आशा गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेदेखि स्थायी कमिटीको बैठक बस्नेछ । गोरखापत्रबाट

 

Logo