उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

केन्द्रबिन्दु
0
Shares

चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सोमबार चीन प्रस्थान गरेका छन्।

मङ्गलवार र बुधबार चीनको राजधानी बेइजिङमा हुने बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुनेछ। सो कार्यक्रममा श्रेष्ठले सम्बोधन गर्नेछन्।

उपप्रधानमन्त्री श्रेष्ठ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ गएका हुन्। चीन भ्रमणका क्रममा उनले चीनका सार्वजनिक सुरक्षा र आपत्कालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्नेछन्।

सम्मेलनको पहिलो दिन साँझ चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुने उनको सचिवालयले जनाएको छ। सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुनेछन्।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो।

बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना हो।

भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेल लगायत छन्।

Logo