राष्ट्रसङ्घका महासचिवको भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप बढ्नेछः प्रधानमन्त्री प्रचण्ड

राष्ट्रसङ्घका महासचिवको भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा थप बढ्नेछः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । 

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने छ भने । 

उनले राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै उनले नेपालको कूटनीतिक सफलताको परिणामस्वरुप उच्चस्तरीय भ्रमण हुन लागेको बताए । 

“यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरुप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ”, उनले भने । 

चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पुर्याउने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । “मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकासनिर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ”, उनले भने । 

आफूले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरुका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको उनको भनाइ छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए । 

Skip This
Skip This
Logo