भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तिहारअघि नै भत्किएका सडकको मर्मत सम्भार सक्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभा अन्र्तगतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले दशैँसम्म ५० प्रतिशत भन्दा बढि सडक मर्मत सम्भारको काम सम्पन्न भएको र तिहारसम्म सम्पूर्ण काम सक्ने बताएका हुन् । ‘दशैँभन्दा अगाडि जुन तयारी गरेका थियौँ, कम्तीमा ५० प्रतिशतभन्दा बढिको उपलब्धी हासिल गरेको निष्कर्ष निकालेका छाैँ । यो मर्मत सम्भारका सन्दर्भमा त्यो काम निरन्तर जारी नै छ ।’ उनले भने, ‘अब तिहारसम्म बाँकी ५० प्रतिशत जसरी पनि पूरा गर्नुपर्छ । आजको हाम्रो बैठकको निष्कर्ष भनेको दशैँसम्म हामी ५० प्रतिशत मर्मत सम्भारको काम सकेका छौँ भने बाँकी ५० प्रतिशत भने तिहारसम्म हामीले सक्ने भनेर निर्देशन दिएका छौँ । यसलाई नियमित रुपमा छलफल गरेर अगाडि बढाउँछौ ।’
यस्तै, दशैँमा भाडालगायतका विषयमा अघिल्लो वर्षमा जस्तो समस्या नदेखिएको मन्त्री ज्वालाको दाबी छ । चर्को भाडा असुल्ने, दोहोरो टिकट काट्ने, सिट नदिनेलगायतका यसअघिका गुनासो यसपटक नआएको उनको भनाई छ ।
उनले भने, ‘भाडा बढि लिन नपाउँने, दोहोरो टिकट काट्ने, सिट नदिने खालको चर्चा भएका विषयहरु थिए । सबै विषयलाई छलफल गरेर त्यसको पनि समाधान गर्ने प्रयास गरेका थियौ । यसवर्ष १३ लाख मानिसहरु उपत्यका बाहिर गएको छ । यसपटक टिकट विना कोही पनि बाहिर जान नपाउँने व्यवस्थालाई लागू गरेपछि यसपटक पहिलाको जस्तो गुनासो आउन पाएको छैन् । काठमाडौं उपत्यकामा मात्रै १ हजार ७ सय २४ वटा गुनासोहरुको सुनुवाई भएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयबीच समन्वय गरेर समाधान गर्ने खालको योजना बनेका थिए ।’
त्यस्तै उनले दशैँ केन्द्रित गरेर १६ वटा नागरिक साझा कक्ष स्थापना गरेर समस्या समाधानको कोसिस गरिएको बताए । ‘यस वर्ष हामीले पूर्व तयारी, सरोकारवालासँग पटक पटक छलफल पनि गरेका हुनाले दशैँमा यातायात व्यवस्थापन गर्नको लागि सहज भएको थियो । सबै जनाको सक्रियताले पनि यसपटकको चाडपर्वमा सहज रुपमा यात्रुहरु घर पुग्ने अवस्था भयो। यस पटक ठूलो दुर्घटना पनि भएको छैन्, यसले हामलिाई धेरै सन्तुष्टि दिएको छ । यसवर्ष जाम पनि कम भएको छ ।’ उनले भने ।
त्यस्तै, मन्त्री ज्वालाले तिहार र छठलाई लक्षित गरेर यातायात व्यवस्थित गर्न आवश्यक तयारी गरिएको पनि बताए । ‘दशैँ, तिहार र छठ जस्तो पर्वलाई लक्षित गरेर सडक पूर्वाधारलाई सहज बनाउने र यातायात व्यवस्थालाई व्यवस्थित गर्ने कुरामा केन्द्रीत भएर बैठक पनि बसेका छौँ । ४५० किलो मिटर जुन राजमार्गहरु छन्, तिनीहरुको स्तरउन्नतीको काम पनि भईरहेको छ । सार्वजनिक सवारी साधनहरुलाई कसरी व्यवस्थित गर्ने र यातायात व्यवस्थापनलाई सहज बनाउँने हिसाबमा कामहरु पनि अगाडि बढाएका छौ ।’ उनले भने ।































प्रतिक्रिया