एमालेलाई माधव नेपालले भने- ‘सत्ताबाट हट्नुको पीडा सदन अवरोध गरेर पोख्ने होइन’

एमालेलाई माधव नेपालले भने- ‘सत्ताबाट हट्नुको पीडा सदन अवरोध गरेर पोख्ने होइन’


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिपक्ष दलले सत्ताबाट हट्नुपर्नेे पीडालाई सदन अवरोध गरेर पोखेको आरोप लगाएका छन् । 

बिहीवार प्रतिनिधिसभा बैठकमा अध्यक्ष नेपालले सरकारलाई मात्रै दोष नदेखाई प्रतिपक्षले आफूभित्रको कमजोरी पनि हेर्नुपर्ने टिप्पणी गरे । ‘म सरकारलाई मात्रै दोष दिन चाहन्न । सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफू भित्रको कमजोरी हेर्नुपर्छ । सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्ने गरी व्यक्त गर्ने काम गर्ने होइन ।’ उनले भने, ‘जनतालाई त्यसले असर गर्छ । सरकारले गरेको कामलाई राम्रो भन्न सक्नुपर्छ । त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ । पीडा पोखेरमात्र हुँदैन, धारे हात लगाएर मात्र हुँदैन्, सदन अवरोध गरेर मात्रै हुँदैन। ’

अध्यक्ष नेपालले अहिले देशमा दुईवटा अतिवादी भाष्य निर्माण गरिएको भन्दै त्यस्ता भाष्यबाट मुक्त भएर समस्याको समाधानका लागि उपाए खोज्नुपर्ने बताए । उनले भने, ‘अहिले दुईवटा भाष्य नेपालमा प्रचलित छन् । एउटा भाष्य छ–सबै डुब्यो, सबै वर्वाद भयो, कुनै उपलब्धि भएका छैनन् । यो अत्यन्तै निराशावादी भाष्य हो । अर्को सवैथोक राम्रो गरियो, गजबै छ । चिन्ता गर्नु पर्ने छैन भन्ने भाष्य छ ।’ 

अध्यक्ष नेपालले देशमा धेरै चुनौती र समस्याहरू आफुहरुकै नालायकीका कारणले आएका भन्दै अरूलाई दोष दिएर नहुने बताए । 

Logo