सबै मिलेर संसदलाई अझ प्रभावकारी बनाउनुपर्छः सांसद खतिवडा

सबै मिलेर संसदलाई अझ प्रभावकारी बनाउनुपर्छः सांसद खतिवडा


नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले संसदलाई सबै एकताबद्ध भएर अझ प्रभावकारी बनाउनु पर्ने बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद खतिवडाले संसद र संसदीय व्यवस्थाप्रति आकर्षण भएन भने संविधानप्रति आकर्षण कम हुने भन्दै यसलाई प्रभावकारी बनाउन सबै एक भएर लाग्नुपर्ने अवस्था आएको बताए । 

उनले भने, ‘संसदप्रति आकर्षण भएन, संसदीय व्यवस्थाप्रति आकर्षण भएन भने हामीले बनाएको संविधानप्रति आकर्षण कम हुन्छ । त्यसैले यो संसदलाई अझ दरोसाथ सबैले एकताबद्ध भएर एउटा पार्टीले अर्को पार्टीलाई गाली नगरिकन, काम गर्ने समय आएको छ । जिम्मेवारी झन् थपिएको छ ।’

यस्तै, सांसद खतिवडाले नेपालको राजनीतिक स्थिरताका लागि समानुपातिक प्रतिनिधित्व आवश्यक भएको भन्दै तर समानुपातिकमा एकपटक भन्दा बढी आउन नपाउने पद्धतिको सुरुवात गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली आवश्यक छ । यसलाई राष्ट्रिय सभामा परिणत गरौं । संविधान संशोधन गर्नुपर्छ, प्रतिनिधि सभालाई प्रत्यक्ष गरौं । यसमा सबै दलहरु एक हौ । एक पटकभन्दा बढी समानुपातिकमा आउने पद्धति ल्याउनु हुँदैन । यसबारे छलफल सुरु भएको छ ।’

Logo