भूकम्पग्रस्त क्षेत्रमा नेताहरुको भिड देखेर उदेक लाग्छः कमल थापा

भूकम्पग्रस्त क्षेत्रमा नेताहरुको भिड देखेर उदेक लाग्छः कमल थापा


राप्रपा नेपालले आज नेपालगन्जमा गर्ने भनेको बिरोध सभालाई श्रद्धाञ्जली सभामा परिणत गरेको छ।  सो श्रद्धाञ्जली सभामा बोल्दै पार्टी अध्यक्ष कमल थापाले भुकम्प ग्रस्त क्षेत्र जाजरकोट रुकुममा मन्त्री नेताहरुको भिड देखेर उदेक र दिक्क लाग्ने बताएका छन् ।

तत्काल उद्धार र राहतमा ध्यान दिन पर्नेमा उल्टो सुरक्षा संयन्त्र नै अलमलमा पर्ने गरि गरिएको नेताहरुको भिड अनाबश्यक भएको टिप्पणी गर्दै थापाले अहिले सस्तो सहानुभूतिको राजनीति गर्ने समय नभएको समेत बताए । 

‘स्थानिय कार्यकर्ता परिचालन गरौ, सरकारी संयन्त्र, सुरक्षा अङ्गलाई सहयोग गरौ, सकिन्छ भने औसधि खाद्यान्न पठाईदिउ, डिस्टर्ब हुने काम नगरौं,’ थापाले भने । कार्यक्रममा बोल्दै थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने बताए। उनले भ्रष्टाचार, कुशासन, बेरोजगारी ,महङ्गीको अन्त्य आजको प्रमुख आबश्यकता भएको भन्दै यसको लागि अब जनआन्दोलनको बिकल्प नभएकोमा जोड दिएका छन्  । 

धर्म संस्कृती पहिचानको रक्षाको लागि जनता जाग्नुपर्ने समय आएको बताउदै थापाले पहिचान र अस्तित्वको लागि जुरमुराउनु पर्ने बेला आईसकेको बताए । मुलुकको स्वाधिनताको रक्षा आत्मसमर्पणबादी मानसिकताबाट ग्रस्त नेता र दलबाट हुन नसक्ने भन्दै थापाले बिदेशी पैसामा नेपाल भित्र रहेको धार्मिक सामाजिक सद्भाव र एकता खल्बल्याउने दुष्प्रयासप्रती सचेत रहन समेत आग्रह गरे । 

राजा ल्यायर दललाई कमजोर पार्ने नीति नभएको प्रष्ट पार्दै थापाले राजा अभिभावक हुने दलहरुले नै राज्य संचालन गर्ने भएकोले राजा सहितको प्रजातन्त्र आबश्यक रहेको उनको दलिल थियो । कोहि निषेध नहुने ब्यबस्था आबश्यक भएको चर्चा गर्दै थापाले बिप्लब माओवादी देखि राजा सहित अट्ने ब्यबस्था मुलुकको लागि हित र अनुकुल हुने उनको दाबी छ । 

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै थापाले भ्रष्ट सरकारबाट कोहि कसैले केहि आशा गर्न नसक्ने समेत बताए । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुईटेल, राजाराम बर्तौला, रमेश अर्याल, हिक्मत ढकाल, लक्ष्मी हमाल, आशा बिष्ट, दिपेन्द्रबहादुर सिंह लगायतले बोलेका थिए । 

कार्यक्रममा भुकम्पमा परि दिबङ्गत भएकाको आत्माको चिर शान्तिको कामना र घाइतेहरुको स्वास्थ लाभको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
 

Logo