कांग्रेसको तिहार अघिका सबै कार्यक्रम स्थगन

कांग्रेसको तिहार अघिका सबै कार्यक्रम स्थगन


नेपाली कांग्रेसले तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरेको छ । शनिबार कांग्रसले विज्ञप्ति जारी गर्दै जाजरकोट र रूकुम (पश्चिम) लगायत क्षेत्रमा आएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्न आवश्यक रहेको भन्दै कार्यक्रमहरु स्थगन गरेको जानकारी दिएको हो । 

‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । यो निर्णयलाई आ–आफ्नो तहमाकार्यान्वयन गर्नु, गराउनु हुन नेपाली कांग्रेस निर्देश गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले जाजरकोट र रूकुम (पश्चिम) लगायतका क्षेत्रमा आएको विनाशकारी भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षतिको घटनाले सम्पूर्ण नेपालीलाई शोक विह्वल र स्तब्ध बनाएको भन्दै स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको छ ।

पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको भए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने विज्ञप्तिमा जनाइएको छ । 
 

Logo