कोसी प्रदेशसभाको चौथो बैठक आज बस्दै

कोसी प्रदेशसभाको चौथो बैठक आज बस्दै


कोसी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ। यसअघि प्रदेशसभाको बैठक गत कात्तिक १ गते स्थगन गरिएको थियो। कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज बैठक बस्न लागेको हो।

बैठकको कार्यसूची बैठक बस्नुअघि तय हुने प्रदेशसभा सचिवचलयका सचिव गोपालप्रसाद पराजुलीले बताए। यसअघि कोसी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत भएको छ।

प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सरकारले प्रस्तुत गर्ने तयारी गरिरहेको छ। यसैबीच, प्रदेशसभाको सभामुख कसलाई दिने भन्नेबारे दलहरुबीच अनौपचारिक छलफल गरिएको छ। 

गठबन्धनमा आबद्ध दलहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख दिएर गठबन्धनमा सहभागी गराउने प्रयास गरिरहेको छ। मुख्यमन्त्री बन्न केदार कार्कीलाई समर्थन गरेको दल नेकपा एमालेले भने सरकार छाडिसकेको छ। यसले गर्दा मुख्यमन्त्रीलाई सबैको सहमति बनाउन असहज बनेको छ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धनका दलहरु माओवादी र नेकपा एकीकृतलाई सहभागी गराएपछि एमाले असन्तुष्ट बनेको हो।आफूसँग सल्लाह नगरी ती दललाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको एमालेले सरकारमा सहभागी आफ्ना मन्त्री राम रानालाई फिर्ता बोलाइसकेको छ। रानाले राजीनामा दिएसँगै सरकारबाट एमाले बाहिरिएको हो।

Logo